नेवारी कन्याको बेलविवाह

काठमाडौंको इटुम्बहाल र किलागलमा नेवार समुदायका १६० भन्दा बढी स साना कन्याहरु दुलहीको भेषभूषामा श्रृंगारपटार सहित सजिएका देखिन्थे। इटुम्बहालमा भेला भएकी ९ बर्षीय निया रंजितकारलाई सोध्दा उनी खुशीका साथ विवाह गर्न आएको बताइन । यति सानो उमेरमा विवाह भनि प्रश्न गर्दा मुसुक्क हाँस्दै “मेरो विवाह अहिले बेलसँग हुन लागेको हो ।”

नेवारी समुदायमा कन्याहरुको बेलविवाह गरिदिने प्रचलन छ । ५ बर्षदेखि ११ बर्षसम्मका कन्याहरुको बेलसँग विवाह गराउने परम्परा अन्तर्गत इटुम्बहाल र किलागलमा आयोजित सामूहिक बेलविवाह कार्यक्रममा ती कन्याहरु सहभागी भएका थिए ।

इहिँ अर्थात बेल विवाह  नेवारहरुलाई अरु जाति जनजातिमाझ पहिचान गराउने एक विशेष संस्कार हो । यो संस्कार अरु जाति जनजातिले अपनाउँदैनन् । नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ , तीनैपटक वर (पुरुष)सँग बिहे हुने होइन । नेवार संस्कारअनुसार कन्याहरु रजस्वला नहुँदै बिजोर वर्ष (५ देखि ११ वर्ष) को उमेरभित्र भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित इहिँ (बेलसँग विवाह) गराउने परम्परा छ ।

इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ। यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसँग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) सँग विवाह हुन्छ। इहिँ गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । नेवार समाजमा बेलविवाह अर्थात इहिँ प्रायः सामूहिक रूपमा गर्ने चलन छ ।

यसै अनुरुप इटुम्बहाल महिला समूह (इतुंबहाः मिसा पुचः) तथा किलागल महिला समूह (किलाघः मिसा पुचः) ले यस बर्ष सामूहिक बेलविवाह कार्यक्रम सम्पन्न गरेको छ ।