प्रधानमन्त्री मागेर पाइदैन, संसदीय विधिबाट हटाउन ओलीको चुनौती
काठमाडौं, फागुन १७ : प्रधानमन्त्री केपी ओलीले संसदीय विधि अपनाएर आफूलाई हटाई नयाँ प्रधानमन्त्री बनाउन प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफू पक्षीय समूहको गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सोमबार सम्बोधन गर्दै उनले संसदीय अभ्यास, विधि, पद्धति र प्रक्रियाबाट प्रधानमन्त्री बन्न कसैलाई कसैले नरोकेको स्पष्ट पारे।
फागुन २३ गते संसद् अधिवेशनका लागि सिफारिस गरिसकेको जानकारी दिँदै उनले संसदमा आएर प्रजातान्त्रिका अभ्यास गर्न उनले प्रचण्ड-नेपाललाई आग्रह गरे । विधिअनुसार हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको उनकाे भनाइ थियाे । डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउने दाबी उनले गरे।
मुलुकमा प्रधानमन्त्री खोज्न दौडादौड चलिरहेको उल्लेख गर्दै उनले यतिखेर ‘दिए खान्थे मायाको दाहिने हातैले’ भनेजस्तो भइरहेको बताए । प्रधानमन्त्री मागेर नपाइने बताउँदै उनले विधि र प्रक्रिया अपनाउन प्रचण्ड-दाहाललाई सुझाव दिए ।
प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै उनले सधैं विधि पद्धति प्रक्रियाको कुरा गर्नेलाई प्रधानमन्त्री हटाउने नियम र पद्धतिसमेत थाहा हुनुपर्ने बताउँदै संसदमा आएर प्रतिस्पर्धा गर्न आग्रह गरे ।
उनले एकै पार्टीमा रहेर पनि माधवकुमार नेपाल र झलनाथ खनालले प्रचण्डलाई उकासेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको आरोप लगाए ।
विभाजित नेकपामा बहुमत कतातिर भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री ओलीले बहुमत प्रचण्ड–नेपालतिर रहेको स्वीकार गर्दै त्यसको श्रेय भने आफूलाई जाने जिकिर गरे ।
‘उनीहरू (प्रचण्ड–नेपाल समूह) बहुमत आफूतिर छ भनेर हिँडिरहेका छन्, त्यो मैले नै दिएको हुँ,’ उनले भने ।
केन्द्रीय समितिमा कोही पनि अधिवेशनबाट चुनिएर नआएको उल्लेख गर्दै उनले अध्यक्ष भएको नाताले पार्टी र आन्दोलनलाई बलियो बनाउन कुनै हिसाब नगरी नाम लेखिदिएको दाबी उनले गरे ।
तर एकीकरणलगत्तै प्रचण्ड–नेपालले पार्टी कब्जा गर्ने र आन्दोलनलाई सिध्याउने कमद चालेको आरोप उनको थियो ।
तर आफूले अर्को समूहमा लाग्नेहरू कसैको पद नहटाएको दाबी गरे पनि प्रधानमन्त्री ओलीले नाम लेख्नेले काट्न पनि सक्ने बताउँदै उनले नेकपा संसदीय दलको प्रमुख सचेतकलाई हटाएको चर्चा गरे । ‘देवप्रसाद गुरुङलाई मैले नै प्रमुख सचेतक बनाएको हुँ, अहिले मैले नै हटाएँ,’ उनले भने ।