विप्लव समूहले पनि बनायो २ सदस्यीय वार्ता टोली

काठमाडौं, फागुन १८ : सरकारले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता टोली बनाएसँगै उक्त समूहले पनि वार्ताका लागि टोली गठन गरेको छ। 

सरकारसँग वार्ता गर्न विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अगाडी सारेको छ । 

औपचारिक रुपमा सार्वजनिक नगरेपनि प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली हुने बताइएको छ । 

विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव समूहले पनि दुई सदस्य टोली वार्ताका लागि पठाउने भएको हो । 

मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव समूहसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।  

२ वर्षअघि प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको दललाई अहिले सरकार आफैले पहल थालेर वार्तामा बोलाएको हो ।