सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीचको पहिलो औपचारिक वार्ता सकियो

काठमाडौं, फागुन १९ : नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र सरकारबीच औपचारिक वार्ताको पहिलो चरण सकिएको छ । सरकार र विप्लव समूहबीचको वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । 

वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए।

विप्लव समूहसँगको पहिलो चरणको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डा. भट्टराईले बताए । 

हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको विप्लव समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो । 

दुवै पक्षले मंगलबार वार्ता टोली गठन गरेका थिए । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलबार साँझ काठमाडौं आइपुगेका थिए।