ओली समूहको आज बस्ने संसदीय दलको बैठकमा सहभागीहुन् ओलीले वामदेवलाई भेटेरै दिए निम्ता

काठमाडौं, फागुन २२ : नेकपा (ओली) समूहको आज संसदीय दलको बैठक बस्न लागेको छ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई भेटेरै बैठकमा आउन आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय फागुन ११ गते सर्वोच्च अदालतले बदर गरेर १३ दिनभित्र संसद् वैठक बोलाउन आदेश दिएको थियो। सर्वोच्चको आदेश अनुसार फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ।

त्यसको तयारीका लागि दलहरु छलफलमा व्यस्त छन्। केहीले संसदीय दलको बैठक बोलाएर छलफल गरेका छन् भने केही बोलाउने तयारीमा छन्।

नेकपा (प्रचण्ड नेपाल) समूहले बिहीबार संसदीय दलको बैठक बोलाएको थियो। नेकपाका बहुमत सदस्य उपस्थित बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ।

त्यस्तै, बिहीबार नै नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको थियो। बैठकमा अधिकांश सांसदले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएका थिए।

आज नेकपा (ओली) समूहको संसदीय दलको बैठक बस्न लागेको हो। यसका लागि गौतमलाई बोलाउन प्रधानमन्त्री ओली शुक्रबार साँझ गौतम निवास भैंसेपाटी पुगेका थिए।

गौतम प्रचण्ड नेपाल समूहको संसदीय दलको बैठकमा पनि गएका थिएनन्। त्यसैले पनि प्रधानमन्त्री ओली आफै गौतम निवास पुगेका हुन्। दुवै नेताबीच कुराकानी भएको गौतमका स्वकीय सचिव दीपक टमटाले बताए।