दुई दशकपछि मेलम्चीको पानी सुरुङबाट आज सुन्दरीजल पुग्न लागेको छ

काठमाडौं, फागुन २२ : मेलम्ची खानेपानी आयोजना निर्माण शुरु भएको दुई दशकपछि मेलम्चीको पानी सुरुङबाट आज सुन्दरीजल पुग्न लागेको छ।

मेलम्ची खानेपानी आयोजनाको २०५८ देखि निर्माण शुरु भएको थियो। आज आएर सिन्धुपाल्चोकको मेलम्चीको पानी सुरुङबाट काठमाडौंको सुन्दरीजलमा पुग्न लागेको आयोजनाले जनाएको छ।

मेलम्चीको ​२६ किलोमिटर लामो सुरुङमा फागुन १० गते पानी पठाइएको थियो। सिन्धुपाल्चोकबाट सुरुङमा पठाइएको पानी सुन्दरीजलमा झार्न प्रशोधन केन्द्र बनाइएको छ। यहि केन्द्रमा प्रशोधन गरेर काठमाडौं उपत्यकामा वितरण गरिनेछ।

अहिले मेलम्चीको सुरुङमा पानी परीक्षण गर्न थालिएको हो। अहिले प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ। परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा पुग्नेछ।

आयोजनाका अनुसार सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण गरिनेछ।

यसअघि असारमा पनि सुरुङ परीक्षण गरिएको थियो। परीक्षण क्रममा सुरुङको ढोका भत्किँदा दुई जनाको मृत्यु भएको थियो।

त्यतिबेला भएको त्रुटी सच्याएर फेरि परीक्षण गर्न थालिएको हो। आज सहज रुपमा पानी सुन्दरीजलमा पुगेपछि परीक्षण सफल देखिने आयोजनाले जनाएको छ।

मेलम्चीको पानी सुन्दरीजलमा पुगेको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सुन्दरीजल जाने भएका छन्।

यो पानी सिधै बाग्मती नदीमा मिसिने भएकाले जलस्तर बढ्नसक्ने आयोजनाले जनाएको छ। त्यसैले बाग्मती तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अपिल गरिएको छ।

मेलम्चीको पानी वितरणका लागि भौतिक संरचना निर्माण भइरहेका छन्। आयोजनाले काठमाडौंका विभिन्न स्थानमा पाइप बिछ्याउने काम गरिरहेको छ।

यो आयोजनाको निर्माण २०५८ सालमा थालिएको थियो। काममा ढिलाइ हुँदा धेरै समय लागेको हो।

यसको चर्चा भने २०५१ सालमै भएको थियो। त्यतिबेला मध्यावधि चुनावताका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंमा अब पानीको समस्या नहुने बताएका थिए। उनले पानीको समस्या समाधान गर्नेसँगै काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने बताएका थिए।