आज १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं, फागुन २४ : आज मार्च ८ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था, राजनैतिक दल आबद्ध महिला संघ÷संगठनहरुले र्‍याली, गोष्ठी, सभा लगायतका विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । जर्मनीमा जन्मिएकी कम्युनिस्ट नेतृ क्लारा जेट्किनले महिला श्रमिकमाथिको श्रम शोषणविरुद्ध संघर्ष थालेको स्मरणमा यो दिवस मनाउने गरिएको हो।

क्लारा जेट्किनको नेतृत्वमा सन् १९०८ मार्च ८ का दिन अमेरिकाको सिकागो सहरमा समान काम, समान ज्याला लगायत माग राखेर महिलाहरुले आन्दोलन थालेका थिए। सोही दिनको स्मरणमा सन् १९१० मार्च ८ देखि अहिलेसम्म श्रमिक महिलाहरुले अधिकारका लागि संघर्ष गरेको दिनका रुपमा यो दिवस मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपालमा पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरेका छन् ।