एमालेमा माधव नेपाल समूह केन्द्रीय समिति र संसदीय दल दुवैमा अल्पमत हेर्नुहोस सूची

काठमाडौं, फागुन २४ : सर्वोच्च अदालतले साविक नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला दिएपछि एमालेको माधवकुमार नेपाल नेतृत्वको समूह संकटमा परेको छ। एमालेभित्र उक्त समूह केन्द्रीय समिति र संसदीय दल दुवैतर्फ अल्पमतमा छ। केन्द्रीय समितिमा ४० प्रतिशतभन्दा बलियो छ, नेपाल समूह। तर, संसदीय दलमा ३१ दशमलव ४० प्रतिशत सांसद मात्र उक्त समूहमा छन्।

एमालेको संसदीय दल एक सय २१ सदस्यीय छ। एकजना समानुपातिक सांसदको मृत्यु भएकाले एमालेसँग हाल एक सय २० सांसद मात्र छन्। तीमध्ये नेपाल समूहसँग ३८ सांसद मात्र छन्। बाँकी ८२ सांसद ओली समूहमा छन्।

यस्तै, १९ असार-१ साउन ०७१ मा हेटौंडामा सम्पन्‍न नवौँ महाधिवेशनबाट एक सय ५९ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो। केन्द्रीय समितिमा पनि झिनो अन्तरमा ओली समूहकै बहुमत रहेको नेपाल समूहका एक नेताले जानकारी दिए।

राजनीतिक दल सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७४ को दफा ३३ उपदफा २ अनुसार पार्टी विभाजनमा अगाडि बढ्न दलको केन्द्रीय समिति र संघीय संसद् संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्य आवश्यक हुन्छ। ‘केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य पुग्छन् तर संसदीय दलमा ३१ दशमलव ४० प्रतिशत सांसद मात्र पुग्छन्। संसदीय दलमा ४० प्रतिशत पुर्‍याउन नेपाल समूहलाई ४९ सांसद आवश्यक पर्छ।

एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला नआएको भए ठ्याक्कै उल्टो अवस्था हुने थियो। साविक नेकपाका केन्द्रीय समिति र संसदीय दल दुवैमा प्रचण्ड-नेपाल समूह बहुमतमा थियो। नेकपाबाट माओवादी केन्द्र अलग भएपछि उक्त पार्टीका सांसद र केन्द्रीय सदस्यहरू पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको सोही पार्टीमा एकत्रित भएका छन्।

तत्कालीन एमालेका १६ जना पदाधिकारीमध्ये नेपाल समूहमा नौजना छन्। उपाध्यक्ष विद्यादेवी भण्डारी राष्‍ट्रपति बनेपछि उनको स्थान रिक्त छ। उपाध्यक्ष वामदेव गौतम तटस्थ बसेका छन्। ओली समूहमा अध्यक्ष केपी ओली, महासचिव ईश्‍वर पोखरेल, उपमहासचिव विष्‍णु पौडेल, सचिव प्रदीप ज्ञवाली र सचिव पृथ्वी सुब्बा गुरुङ छन्।

नेपाल समूहमा वरिष्‍ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष अष्‍टलक्ष्‍मी शाक्य, उपाध्यक्ष भीम रावल र उपाध्यक्ष युवराज ज्ञवाली छन्। यस्तै, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, सचिव गोकर्ण बिष्‍ट र सचिव भीम आचार्य नेपाल समूहमा छन्।

एमाले स्थायी समिति २२ सदस्यीय थियो। र, ओली र नेपाल दुवै समूहमा बराबरी सदस्य थिए। केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्‍वर पोखरेल, विष्‍णु पौडेल, सुवास नेम्वाङ, भीम रावल, अष्‍टलक्ष्‍मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्‍ट, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, मुकुन्द न्यौपाने, सत्यनारायण मण्डल, छविलाल विश्‍वकर्मा स्थायी समिति सदस्य थिए। तीमध्ये नेपाल समूहमा नेपाल, खनाल, रावल, शाक्य, ज्ञवाली, भुसाल, आचार्य, बिष्‍ट, भट्टराई, पाण्डे, न्यौपाने थिए।

ओली समूहतर्फ एमाले सांसद (८२ जना)

केपी ओली, ईश्‍वर पोखरेल, विष्‍णु पौडेल, सुवासचन्द्र नेम्बाङ, वसन्तकुमार नेम्बाङ, राजेन्द्र गौतम, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ, रामवीर मानन्धर, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्‍ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्‍णबहादुर राई, कृष्‍णगोपाल श्रेष्‍ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुलप्रसाद बाँस्कोटा, खगराज अधिकारी, विद्या भट्टराई, कृष्‍णबहादुर श्रेष्‍ठ, केदार सिग्देल, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, सूर्यप्रसाद पाठक, पदम गिरी, छविलाल विश्‍वकर्मा, दलबहादुर राना, बृजेशकुमार गुप्ता, नन्दलाल रोका क्षत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, प्रेमबहादुर आले, गणेशसिंह ठगुन्‍ना, दामोदर भण्डारी, नरबहादुर धामी, विजय सुब्बा, मोतिलाल दुगड, थममाया थापा, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, विना श्रेष्‍ठ, नवीना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, विन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, सरिता न्यौपाने, शान्ता चौधरी, विमला विश्‍वकर्मा, जुलीकुमारी महतो, रेखाकुमारी झा, सरिताकुमारी गिरी, तुलसी थापा, राधाकुमारी ज्ञवाली, नारदमुनि राना, लालप्रसाद साँवा, पोल्देन छेपाङ गुरुङ, जगतबहादुर सुनार, नारायणप्रसाद मरासिनी, प्रेमप्रसाद तुलाचन, भूपेन्द्रबहादुर थापा, लालबहादुर थापा, भैरवबहादुर सिंह, मोहन बानियाँ, मनकुमारी जीसी, तीर्था गौतम, यज्ञ बोगटी, धनबहादुर बुढा, कृष्‍णप्रसाद दाहाल, लालबाबु पण्डित, आशाकुमारी विक, गजेन्द्रबहादुर महत, मैनाकुमारी भण्डारी, गोपालबहादुर बम

नेपाल समूहमा एमाले सांसद (३८ जना)

झलनाथ खनाल, माधवकुमार नेपाल, घनश्याम भुसाल, योगेश भट्टराई, जीवनराम श्रेष्‍ठ, कृष्‍णभक्त पोखरेल, विरोध खतिवडा, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, झपटबहादुर रावल, डा. दीपकप्रकाश भट्ट, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, पवित्रा निरौला खरेल, गंगा चौधरी, गोकर्ण बिष्‍ट, सुरेन्द्रप्रसाद पाण्डे, ध्रुवकुमार शाही, गणेशकुमार पहाडी, जयकुमार राई, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ, पार्वतीकुमारी बिशुन्के, मायादेवी न्यौपाने, समिना हुसेन, लक्ष्‍मीकुमारी चौधरी, कलिला खातुन, विनादेवी बुढाथोकी, कल्याणीकुमारी खड्का, निरादेवी जैरु, पुष्‍पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, विष्‍णु शर्मा, कृष्‍णलाल महर्जन, नारायणप्रसाद खतिवडा, हीराचन्द्र केसी, सोमप्रसाद पाण्डेय, माया ज्ञवाली