नयाँ पार्टी गठनतिर भन्दा एमालेमै ओलीविरुद्ध संघर्ष गर्ने विषयमा नेपाल समूहको छलफल

काठमाडौं, फागुन २४ : एमालेको माधवकुमार नेपाल नेतृत्वको समूहका अधिकांश नेताले नयाँ पार्टी गठनको अभ्यासमा नजाने राय दिएका छन्। एमालेमै बसेर अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूहविरुद्ध संघर्ष गर्नुपर्ने राय उनीहरूको छ।

सत्तारुढ नेकपा खारेज भएको तथा एमाले र माओवादी केन्द्र ब्युँतिने सर्वोच्च अदालतको फैसलापछि उक्त समूह निरन्तर बैठक र छलफलमा छ। तिनै बैठक र छलफलमा सहभागी स्थायी र केन्द्रीय समिति सदस्य तथा सांसदहरूले नयाँ पार्टी गठनको अभ्यासमा नलाग्न नेतृत्वलाई सुझाएका हुन्।

‘पहिलो- नेकपा बचाउन सकिन्छ भने बचाउने र दोस्रो- एमालेभित्रै बसेर आफ्ना विचारहरू सुरक्षित गरेर अगाडि बढ्ने राय हामीले दिएका छौँ,’ नेपाल समूहका एक सांसदले भने, ‘तर, अर्को नयाँ पार्टी खोल्नेतिर जानु हुँदैन भन्नेमा धेरैको राय देखिएको छ। नयाँ पार्टी गठन गर्ने प्रक्रियामा अगाडि बढ्नु हुँदैन। त्यो गलत कदम हुनेछ।’

उक्त समूहका एक केन्द्रीय सदस्यका अनुसार सर्वोच्च अदालतको फैसलापछि समस्यामा परेको उक्त समूहले एमालेमै बस्ने निष्कर्षमा पुग्ने क्रममा नेपाल समूह छ। ‘एउटा परिस्थितिले हामीलाई एकै ठाउँमा उभिने वातावरण तयार पारिदियो, प्रचलित कानून र ऐनअनुसार पनि एमालेमै बस्नुपर्ने परिस्थिति बन्यो,’ ती केन्द्रीय सदस्यले भने, ‘तथापि, के गर्ने भन्ने निष्कर्ष निस्किइसकेको छैन।’

एमाले सबैको मिहिनेतबाट निर्माण भएको पार्टी भएकाले पनि एमालेमा फर्किन हिचकिचाउनुपर्ने अवस्था नभएको उनले बताए। ‘विकल्पहरू’bout छलफल जारी छ,’ उनले भने, ‘एमाले केपी ओलीको मात्र पार्टी होइन, हामी सबैको पार्टी हो। हामी सहभागी नरहँदा एमाले भन्ने पार्टी हुनुको अर्थ पनि रहँदैन।’

सर्वोच्चको फैसलाविरुद्ध पुनरवलोकनमा जाने भने लगभग निश्चित भएको उनले जानकारी दिए। साविक नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा पुनरवालोकनमा जाने निश्चित भएको उनले जानकारी दिए। ‘त्यसमा पनि कसरी जाने भन्नेमा हामी छलफलमै छौँ,’ उनले भने।

नेपाल समूहका अर्का केन्द्रीय सदस्यका अनुसार अन्य विकल्प नदेखिँदा एमालेमै बस्नु उत्तम हुने देखिएको छ। ‘माओवादी केन्द्रसँग एकता गर्न नहुने जनमत केपी ओलीसँग भन्दा हामीसँग बढी थियो,’ ती केन्द्रीय सदस्यले भने, ‘ओली एमाले अध्यक्ष बनेपछि हाम्रो समूहका अधिकांशले पार्टीभित्र अवसर पनि पाएका थिएनन्। र, उनीहरू अर्को पार्टीसँग एकताको पक्षमा पनि थिएनन्। र, उनीहरू लोकतान्त्रिक समाजवादी लाइनमा बढी विश्वास राख्छन्।’

ओलीसँग भएको समूहमा सत्ता, शक्तिमा विश्वास गर्ने मानिस बढी भएको उनको बुझाइ छ। ‘हामीसँग वैचारिक, सैद्धान्तिक पृष्ठभूमिका मानिस पनि बढी छन्। अहिले तीमध्ये धेरैको बुझाइ भित्री शक्ति संघर्ष गर्ने भन्ने देखिएको छ।’ सम्भवतः मंगलबारसम्ममा उक्त निष्कर्ष सार्वजनिक हुन सक्ने उनको भनाइ छ।