राजनीतिक लडाइँबाट भाग्दिनँ, लडाइँ लड्ने उमेर अझै बाँकी : प्रचण्ड

काठमाडौं, फागुन २७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनःस्थापनासँगै एउटा ‘ब्याटल’ जितेको र अझै दुईचार ब्याटल जित्न बाँकी रहेको बताएका छन्।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित नेकपा नेकपा माओवादी केन्द्रनिकट नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रनुपर्ने आवश्यक देखिएकाले आफूलाई सहयोग गर्न नेता-कार्यकर्तालाई अनुरोध गरे।

यतिखेर आफू राजनीतिक लडाइँबाट भाग्ने मनस्थितिमा नरहेको पनि उनले स्पष्ट पारे। फेरि एकपटक क्रान्ति गर्नबाट आफू कुनै हालतमा पछि नहट्ने अठोट उनले व्यक्त गरे। यसका लागि उमेरले  नछेक्ने विश्वास उनले व्यक्त गरे।

माओत्से तुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेको उदाहरण दिँदै प्रचण्डले जनयुध्द थाल्दा आफ्नाे उमेर ४२ वर्ष रहेकाे र अहिले ६२/६३ वर्षको भएकाले लडाइँ लड्ने उमेर अझै बाँकी रहेको बताए। 

अध्यक्ष प्रचण्डले सर्वोच्चको पछिल्लो फैसलाले देशलाई जटिल अवस्थामा पुर्याएको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध आफूले लेखेको १९ पृष्ठको प्रतिवेदन’bout चर्चा गर्दै उनले फेरि शान्तिपूर्ण जनयुद्धको तयारी थाल्नुपर्ने अवस्था आउन सक्ने बताए।

प्रतिक्रियावादीविरुद्ध विचारको युद्ध गरेकाे उल्लेख गर्दै उनले क्रान्तिकारी साथीसँग भर परेर विगतमा जनयुद्ध सुरु गरेको स्मरण गरे। लोकतान्त्रिक गठबन्धनविरुद्ध भइरहेको हमलाविरुद्ध जनतासँग मिलेर देशव्यापी अभियान चलाउने र देशीविदेशी षड्यन्त्रलाई परास्त गर्ने उनकाे भनाइ थियाे।