नेपालमा पहिलो पटक युरेनियमसहित चार पक्राउ

काठमाडौं, फागुन २८ : प्रहरीले बौद्धबाट साढे २ किलो ५ सय ग्राम युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ। 

प्रहरी अनुसन्धानका क्रममा संसारकै बहुमुल्य पदार्थ मानिएको युरेनियम नेपाल ल्याएको खुलेको हो । प्रहरीले सो युरेनियमसहित रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपानेलाई पक्राउ गरेको छ ।

नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । उनीहरुबाट बरामद गरिएको वस्तु परिक्षणपछि युरेनिययम भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।  

एआईजी पालले अनुसन्धान जारी रहेको भन्दै सबै कुरा अहिले नै भन्न नमिल्ने बताए । नेपालमा पहिलोपटक युरोनियम बरामद भएको हो । एआईजी पालका अनुसार बरामद भएको युरेनियम प्राकृतिक युरोनियम हो । जसको मात्रा २३८ छ ।

राष्ट्रिय विधिविज्ञान प्रतिष्ठानको ल्याबको परीक्षणबाट युरेनियम सक्कली भएको प्रमाणित भएको हो । प्रहरीका अनुसार युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ तयार गरिन्छ ।

युरेनियम २३५ को अन्तर्राष्ट्रिय मूल्य प्रतिकिलो १८ अर्ब रुपैयाँ पर्न जान्छ । एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन बढी कोइलाबाट निस्कने तातो ऊर्जाबराबर हुने बताइन्छ । युरेनियम पारमाणविक भार भएको रेडियोधर्मी धातु हो ।

 

विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार उनीहरुलाई कारबाही गर्ने प्रहरीले बताएको छ ।