कांग्रेससमक्ष जसपाको प्रस्ताव : माओवादीसहित तीनै दल मिल्नुपर्ने

काठमाडौं, फागुन २८ : जसपाका शीर्ष नेताहरुले कांग्रेस, जसपा र माओवादी मिलेर जानुपर्ने का‌ंग्रेस शीर्ष नेतासँग प्रस्ताव गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा जसपा नेताहरुले यस्तो प्रस्ताव गरेका हुन्।

कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको छ। भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचि ’boutमा कांग्रेसलाई जानकारी गराएका थिए।

जसपाका अध्यक्ष महन्थ ठाकुरले अहिले मिलेर जाने स्थिति रहेको र आफूहरुले आफ्ना पार्टीका धारणा राखेको जानकारी गराएका थिए। उनलेल रेशम चौधरीलगायत नेताहरु छुट्नुपर्ने, मुद्दा फिर्ता हुनुपर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्नेलगायत विषयमा कुरा राखेको ठाकुरले बताए। बैठकमा कांग्रेस नेतृत्वले सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेको उनले बताए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा वर्तमान राष्ट्रिय राजनीतिलाई मिलेर निकास दिनुपर्ने र त्यसका लागि कांग्रेस, माओवादी र जसपा एक ठाउँमा उभिने परिस्थिति निर्माण हुनुपर्ने धारणा आएको बताए।

बैठकमा अहिलेको सन्दर्भमा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने मत प्रकट भए पनि ठोस रुपमा कुनै निर्णयमा पुगिनसकेको बताउँदै प्रवक्ता शर्माले प्रतिनिधिसभा पुनः स्थापनापछिको राष्ट्रिय राजनीतिलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने विषयमा छलफल भएको बताए।

जसपा नेतृत्वसँगको भेटवार्ता अघि आजै कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो। सभापति देउवा निवासमै भएको बैठकमा खुला रुपमा संवाद गरी निष्कर्षमा पुगेर राष्ट्रिय राजनीतिलाई कांग्रेसको अग्रसरतामा लिएर जानुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए।

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेको थियो। त्यस्तै, सर्वोच्चले यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन अमान्य हुने फैसला गरेपछि दलहरुबीच राष्ट्रिय राजनीतिक विषयमा द्विपक्षीय एवं बहुपक्षीय रुपमा छलफल हुन थालेको छ।