फागुन २८ को निर्णय रद्द हुनुपर्ने नेपाल समूहको सर्त

काठमाडौं, चैत २ : एमाले अध्यक्ष केपी ओली समूहसँग सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा माधवकुमार नेपाल-झलनाथ खनाल समूहले २८ फागुनमा ओलीले गरेको निर्णय रद्द गर्नुपर्ने सर्त अगाडि सारेको छ।

नेपाल-खनाल समूहमा रहेका उपाध्यक्ष भीम रावलका अनुसार वार्ताका क्रममा २८ फागुनको निर्णयसहित हालसम्म गरिएका सबै क्रियाकलाप स्थगित गर्न सर्त राखिएको छ। ‘त्यसपछि मात्र भोलिको चियापान र ७ चैतको केन्द्रीय कमिटी बैठकमा जाने-नजाने भन्‍ने’bout निर्णय लिइने छ,’ रावलले संवाददाताहरूसँग भने, ‘अध्यक्षको तर्फबाट केही कुरा सुन्‍न पाएनौँ।’

वार्ताका क्रममा नेपाल-खनाल समूहले सर्वोच्च अदालतको फैसलाबाट एमाले २ जेठ ०७५ को अवस्थामा फर्किएको र त्यही प्रस्थान विन्दु हुनुपर्ने अडान राखेको थियो।

आजको बैठकले एमालेलाई एकताबद्ध राख्न साझा आधार खडा गरेको ओली पक्षका नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

‘केही प्रश्नहरूमा हामी एउटै विन्दुमा पुगिसकेका छैनौँ । उहाँहरूले २८ फागुनको निर्णयलाई स्थगन गर्न सकिन्छ कि भनेर उहाँहरूले आग्रह गर्नुभएको छ, हामीले अब अगाडि बढौँ, ती निर्णयमा पुनरवलोकन र सुधार गर्नुछ भने छलफल गर्दै जान सकिन्छ भनेर आग्रह गरेका छौँ,’ ज्ञवालीले संवाददाताहरूसँग भने, ‘उहाँहरूले चैत ४ र ५ गते भेला गर्ने भन्नुभएको छ । त्यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन । थप दूरी बढाउने मात्रै काम गर्छ । त्यस्ता भेला नगरौँ र केन्द्रीय कमिटीको बैठक आवश्यक परामर्शबाट तय गरौँ भनेर हामीले भनेका छौँ ।’