प्रधानमन्त्री ओलीको नेपाल-खनाल समूहलाई कारवाही गर्ने चेतावनी

काठमाडौं, चैत ३ : प्रधानमन्त्री केपी ओलीले ‘केही मानिस’ले राष्‍ट्रिय राजनीति नै बिथोल्ने गरेर एकता र एकीकरणलाई अगाडि बढ्न नदिई असहज स्थितिमा पुर्‍याएको दाबी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित आफ्नो समूहको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्‍टि हुँदै गएको दाबी पनि गरे। आफैंले मुद्दा लडेर ल्याएको संसद् पहिलो दिनदेखि नै आफैं चल्न नदिने, आफैं बहिष्‍कार गर्ने, आफैं व्यवधान खडा गर्नेजस्तो गाह्रो स्थिति बनेको उनको दाबी थियो।

सरकारलाई संविधान कार्यान्वयन गर्न नदिई व्यवधान खडा गरिएको आरोप उनले लगाए। एक ढंगले पार्टी फुटाइएको दाबी पनि उनले गरे। ‘अध्यक्ष, महासचिवलाई निष्‍कासन गरिएको थियो, संसदीय दलको नेताबाट हटाइएको थियो, कहाँबाट हटाएको हो?’ उनले भने, ‘पद्धति, विधि पुर्‍याउनेले बाटैबाट विधि पुर्‍याउने, बाटैबाट अध्यक्ष हटाउने, बाटैबाट आदेश दिने गरेका थिए। हामी त विचरा मान्छे साधारण सदस्यताबाट पनि निष्‍कासित, तपाईंहरू कमसेकम पार्टी सदस्य त हुनुहुन्छ। म त बाटोबाटै विधिअनुसार निष्‍कासित मान्छे।’

एमाले वरिष्‍ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालतर्फ लक्षित गर्दै उनले केही मानिसले छुट्टै भेला र छुट्टै कार्यक्रम गरिरहेको र निहुँ खोजिरहेको बताए। चैत ७ मा केन्द्रीय कमिटी बैठक बोलाइएको समयमा चैत ४ मा राष्‍ट्रिय भेला आयोजना गरिएकामा उनले असन्तुष्‍टी व्यक्त गरे। ‘राष्‍ट्रिय भेलाबाट प्रतिवेदन पास गर्ने रे, राष्‍ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने रे,’ उनले भने।

पार्टीमा बसेर कसैले अनुशासनविपरीत गतिविधि गरिरहे पार्टी विधानअनुसार कारवाही हुने चेतावनी उनले दिए। एमालेमा आवद्ध नेता-कार्यकर्तालाई माधवकुमार नेपाल समूहको गुटको भेलामा सहभागी नहुन उनले आदेश दिए। र, नेपाल समूहको भेलामा सहभागी हुने नेता-कार्यकर्तालाई कारवाही गर्ने चेतावनी पनि दिए।

‘पार्टी कार्यकर्ता र नेताहरूलाई त्यस्ता भेलामा सहभागी नहुन सचेत गराउन चाहन्छु,’ उनले भने। पार्टीमा कसैमाथि अन्याय नहुने उनको दाबी थियो। ‘एकथरि अुनहारका साथीहरू चियापानमा सहभागी भएनन्, पार्टी अध्यक्ष, प्रधानमन्त्रीको चियापानमा नजानेहरू कसको कार्यक्रममा जानुहुन्छ,’ उनले भने। नेपाल समूह चियापानमा सहभागी नहुनुलाई ‘राम्रो लक्षण नभएको’ उनले बताए। ‘कारणबस आउन नभ्याएको ठान्छु म, भोलि कति तमासा गर्नुहुनेछ, एक नजर त्यहाँ हुनेछ,’ उनले भने, ‘पार्टीलाई धम्क्याएर ठेगान लगाउने कसैले सोचेको छ भने म यहीँबाट भन्‍न चाहन्छु, नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन।’