टोकियो ओलम्पिक र प्यारालम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध

सन् २०२१ को ग्रिष्म ऋतुमा आयोजना गरिएको ओलम्पिक र प्यारालम्पिकमा जापानको राजधानी टोकियोमा विदेशी दर्शकले सहभागी हुन पाउने छैनन् । गत शनिबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय प्यारालम्पिक कमिटी, टोकियो महानगर, ओलम्पिक आयोजक कमिटी र जापान सरकारको संयुक्त बैठकले विदेशी दर्शकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विदेशी दर्शकलाई प्रतिबन्ध गर्ने निर्णय अचानक भएको होइन । कोभिड–१९ महामारीबीच जारी अनिश्चितताका कारण यस्तो निर्णय भएको हो । अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धित छ र कोरोना भाइरसको नयाँ प्रकार देखापरिरहेका छन् । आगामी ग्रिष्म ऋतुसम्म जापानमा विदेशी पर्यटकको आवागमन खुला हुने सम्भावना छैन ।

‘वर्तमान अवस्थामा जापान र विश्वका अन्य धेरै मुलुकमा कोभिड–१९ को अवस्था अझै चुनौतीपूर्ण छ र कोभिडका नयाँ प्रकार देखापरिरहेका छन्,’ बैठकमा संलग्न पाँच पक्षको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धित छ । यो महामारीको वर्तमान अवस्थाको आधारमा त्यतिबेलासम्म जापान प्रवेश गर्न दिइने सम्भावना पनि कमै छ ।’

ओलम्पिकका लागि टिकट खरिद गरिसकेका विदेशी दर्शकका लागि उक्त निर्णय लिनुपरेको बैठकको निष्कर्ष छ । उक्त निष्कर्षबाट ओलम्पिकमा सहभागी हुने खेलाडी र जापानका नागरिकको सुरक्षा सुनिश्चित हुने पाँचै पक्षले निष्कर्ष निकालेका हुन् ।

टोकियो ओलम्पिक सन् २०२० कै लागि तय गरिएको थियो । तर, कोरोना भाइरसको विश्वव्यापी प्रसारका कारण स्थगित गरिएको थियो । आगामी २३ जुलाईबाट सुरु भई २४ अगस्टमा सम्पन्न हुने गरी ओलम्पिकको तालिका घोषणा गरिएको छ ।

प्यारालम्पिकका खेलहरू २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुनेछन् । विदेशी दर्शकले आधिकारिक च्यानलहरूमार्फत खरिद गरेका टिकट फिर्ता गर्ने निर्णय पनि संयुक्त बैठकले गरेको छ ।

‘विश्वभरका सबै उत्साहित ओलम्पिक प्रशंसक, दर्शक र निश्चय नै खेलहरूमा आउने योजना गरिरहेका खेलाडीका परिवार र साथीहरूको निराशा हामी बुझ्न सक्छौँ । यसका लागि म साँच्चै दुःखी छु । हामीलाई थाहा छ यो सबैले गरेको ठूलो त्याग हो । हामीले यस महामारीको सुरुदेखि नै त्याग आवश्यक पर्ने बताउँदै आएका छौँ,’ आईओसीका अध्यक्ष थोमस बाकले भने, ‘तर, हामीले पहिलो सिद्धान्त सुरक्षा हो भनेका छौँ । प्रत्येक निर्णयले सुरक्षाको सिद्धान्तलाई सर्वप्रथम मान्नुपर्छ ।’ आईओसीका जापानी साझेदार र मित्रहरू यो निष्कर्षमा सहजै नपुगेको उनको ठम्याइ छ ।

यस्तो छ टोकियो ओलम्पिक तालिका

टोकियो ओलम्पिक २३ जुलाईदेखि ८ अगस्टसम्म चल्ने छ । तालिकाअनुसार खेलको प्रतिस्पर्धा २१ जुलाईदेखि नै सुरु हुनेछ, जसमा फुटबल र बेसबल छन् ।

औपचारिक उद्घाटन भने २३ जुलाईमा हुनेछ । कोरोना भाइरसका कारण एक वर्ष पछि सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल तीन सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोकियोका ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ ।

(द गार्जियनबाट)