अविश्वासको प्रस्ताव फिर्ता लिन मुख्यमन्त्री राईकाे आग्रह, हस्ताक्षर फिर्ता हुने

विराटनगर, चैत ११ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एमालेका सांसदहरूलाई सात दिनभित्र अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।

एमाले प्रदेश १ संसदीय दलको बुधबार (आज) बसेको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् । ‘छलफलका क्रममा एकसाताको समय पर्याप्त हुने भनिएको छ,’ बैठकमा सहभागी माधव पक्षका नेता लिलाबल्लभ अधिकारीले भने, ‘सामूहिकरुपमा अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता हुनेछ ।’

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा त्यतिबेला अस्तित्वमा रहेको नेकपा ओली र प्रचण्ड नेपाल समुहमा विभाजन भएको थियो । त्यसपछि प्रदेशसभा १ का प्रचण्ड-नेपाल समूह पक्षीय ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

सो प्रस्ताव प्रदेशसभामा दर्ता भइसके पनि छलफल हुन नपाउँदै सर्वोच्च अदालतले नेकपा एककिरण बदर गरे एमाले र माओवादी केन्द्रलाई वूर्ववत् अवस्थामा पुर्याएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु पनि साबिककै पार्टीका सांसदका रूपमा बाँडिएका थिए।

नेपाल समूहका संसदहरू अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति जनाइसकेका छन्।
संसदीय दलको बैठकमा सो समूहका दुई सांसद सहभागी भएर अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराएको एक नेताले जानकारी दिए।

प्रदेश १ सभामा ९३ सांसदमध्ये एमालेका मात्र ५१ सांसद छन्, जुन स्पष्ट बहुमत हो। अविश्वासको प्रस्ताव दर्ता दार्ता भएपछि प्रदेश सभा बैठक बस्न सकेको छैन ।

चैत २ गतेलाई बोलाइएको बैठक अघिल्लो दिन सूचना निकालेर अनिश्चितकालका लागि स्थगित गरिएको छ।