भागरथीको हत्या आरोपित दिनेशसँग मेल खायो भजाइनल स्वाब

काठमाडौं, चैत १२ : बैतडीको दोगडाकेदार गाउँपालिका-७ चुडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोप लागेपछि थुनामा रहेका दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डिएनएसँग मेल खाएको छ।

उनीहरुको डिएनए केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुशीमा परीक्षण गरिएको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमकै क्रममा डिएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको र परीक्षणपछि दिनेशसँग मेल खान खाएकाे थियो । स्वाबबाट प्राप्त नमूना मिलेसँगै प्रकरणको अनुसन्धान थप बलियो बनेको सिंहले बताए।

भागरथी हत्या प्रकरणमा संलगन भएको देखिएको भन्दै ४ फागुनमा दिनेशलाई पक्राउ गरेको थियो। उमेर नपुगेका कारण उनलाई अदालतको आदेशबमोजिम दिपायलस्थित सुधार गृहमा राखिएको छ।  त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकार गरेका थिए।

तर केही दिनअघि मात्र उनले घटना अरूबाटै भएको, आफू प्रत्यक्षदर्शी रहेको, मार्ने धम्की दिएपछि घटना स्वीकार गरेको, आफू निर्दोष रहेको बताउँदै आए पनि प्रहरीले सजायबाट उन्मुक्ति हुने चाहनाले त्यस्तो हर्कत गरेको प्रतिक्रिया दिएको थियो।  

नाताले भागरथीको भाइ पर्ने १७ वर्षीय दिनेशलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन भनेको थियो । सुधार गृहमा रहेका बेला उनले आफू घटनामा संलग्न नरहेको बयान दिएको विवरण सार्वजनिक भएको थियो।

माघ २२ गते घरबाट विद्यालय गएकी भागरथी घर नफर्किएको र भोलिपलट उनको शव खोचलेक क्षेत्रस्थित लवलेक जंगलमा भेटिएको थियो ।