प्रदेश १ मा मुख्यमन्त्री शेरधनले गरे मन्त्रिपरिषद विस्तार

विराटनगर, चैत १३ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज (शुक्रबार) मन्त्रिपरिषद विस्तार गरेका छन्।

प्रतिनिधिसभा विघटनपछि विभाजित दुई समूहमा प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका र सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको एमालेभित्र पनि माधवकुमार नेपाल समूह त्यागेर आएकालाई उनले नयाँ मन्त्रिमण्डलमा समेटेका छन्। नवनियुक्त मन्त्रीहरुको शपथ आजै प्रदेश प्रमुखको कार्यालयमा हुनेछ। 

स्रोतका अनुसार माओवादी केन्द्र पृष्ठभूमि भई हाल एमालेमा आएका टंक आङबोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा अस्तित्वमा हुँदा माधवकुमार नेपाल समूह त्यागेर ओली समूहतिर लागेकी उषाकला राईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका राम रानाले मन्त्री बन्ने साैभाग्य पाएका छन्। नेता नेपालनिकट रहँदै आए पनि पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा बनेका दुइृ समूहमा उनले ओलीतिर साथ दिएका थिए । उनले मुख्यमन्त्री राईविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा पनि हस्ताक्षर गरेनन्।

राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङलाई पनि भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उदयपुरकी कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री बनाइएको छ । सांसद घलेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि पछि नाम फिर्ता लिएकी थिइन्। सांसद ओझा नेपाल समूह छाडेर ओलीतिर लागेका थिए।

पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । त्यतिबेला रहेको नेकपाको प्रचण्ड-नेपाल समूहमा आबद्ध नेता जीवन घिमिरेले सामाजिक विकासमन्त्रीबाट राजीनामा दिएका थिए। त्यस्तै राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले पनि राजीनामा दिएका थिए। त्यसको दुई दिन अघि पुस १० गते मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए।