कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गर्दै प्रधानमन्त्रीको राजीनामा माग्यो

काठमाडौं, चैत २० : नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने भएकाे छ।

शुक्रबार साँझ बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कांग्रेस प्रवक्ता शर्माका अनुसार, ‘प्रधानमन्त्री ओलीजीले सरकार चलाउने नैतिक र राजनीतिक आधार गुमाइसक्नु भएको छ। त्यसैले उहाँको राजीनामा माग्ने निर्णय गरेका छौं।’

यसँसगै कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पनि केन्द्रीय कार्यसमितिले निर्णय गरेको छ। ‘हामी आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्छौ,’ प्रवक्ता शर्माले भने।

यसअघि पटकपटक नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसलाई सरकारको नेतृत्व लिन आग्रह गर्दै आएका थिए। तर, कांग्रेस सरकार गठनका लागि अवस्था परिपक्व नभएको बताउँदै आएको थियो।

बिहीबार बसेको माओवादी स्थायी कमिटीको बैठकले ४८ घन्टाभित्र निर्णय दिन कांग्रेसलाई आग्रह गरेको थियो। कांग्रेसले सरकार बनाउन तयार भएपछि मात्रै समर्थन फिर्ता लिने माओवादीले बताउँदै आएको थियो।

कांग्रेसले भने माओवादीले समर्थन फिर्ता लिनुपर्ने जिकिर गरिरहेको थियो। आज भने कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद रहेका छन्। त्यस्तै, माओवादीका ५४ सांसद छन भने जसपाका ३४ सांसद छन्। तीन दल मिले सरकार गठनका लागि बहुमत पुग्छ।

सर्वोच्च अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेसँगै एमाले र माओवादी अलग भएका छन्। माओवादीले समर्थन फिर्ता लिने वितिक्कै सरकार अल्पमतमा पर्ने भएको छ।