राष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता खनाल भेट्न पुगिन डल्लु

काठमाडौं, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले शनिबार वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। राष्ट्रपति भण्डारी भेटका लागि डल्लुस्थित खनाल निवासमै पुगेकी थिइन्। स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएकाे थियो। 

बदलिँदो राजनीतिक परिस्थितिसँगै पछिल्लो समय एमालेभित्रैकाे विवादले  चर्काे रुप लिएकाे छ। प्रधानमन्त्री केपी ओलीले निषेधको राजनीति गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गरिरहँदा नेता खनाल पनि सोही समूहमा आबद्ध छन्। 

पार्टी हितविरुद्ध काम गरेको भन्दै नेपालसहित केही नेतालाई पार्टी सदस्यताबाट निलम्बन गर्दा नेता खनालमाथि भने त्यस्तो कुनै कारबाहीकाे संकेतसम्म छैन। सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी खनाल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सामान्यतया राष्ट्रपति कुनै नेतालाई भेट्न जानु शिष्टाचारबाहिरको विषय हो ।