नरोकिने भयो भक्तपुरको बिस्का जात्रा
काठमाडौं, चैत २५ : भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा नराेकिने भएको छ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र बिस्केट जात्रासँग सम्बन्धित सरकोकावालाहरूको बुधबार बसेको संयुक्त बैठकले जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको हो।
विगतमा पनि बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको र यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै जात्रा सञ्चालन गर्न लागिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए।
बैठकले भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो उभ्याउने र ढाल्ने जात्रा कोभिड–१९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको छ।
त्यस्तै जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफएम र सामाजिक सञ्जालमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ। अनुशासित र मर्यादित रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सभ्य रुपमा जात्रा सम्पन्न गर्न माइकिङ गरेर सबैसँग आग्रह गर्ने निर्णय पनि भएको छ।
बिस्का जात्रा सञ्चालनका लागि आवश्यक तयारी गर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्ने र जात्राको अवधिमा शान्तिसुरक्षाको सबै बन्दोबस्त जिल्लास्थित सुरक्षा निकायमार्फत गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले जात्रा सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो। यही चैत २८ गते बिस्का जात्रा सुरु हुन्छ।