गृहमन्त्री बादललाई पनि सांसद पदबाट हटायो माओवादी केन्द्रले

काठमाडौं, चैत २७ : गृहमन्त्री रामबहादुर थापा  ‘बादल’ को पनि सांसद पद गुमेको छ। उनी राष्ट्रिय सभाका सदस्य हुन्।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज (शुक्रबार) पत्र लेखेर बादललाई दलबाट हटाएको जानकारी गराएको हो। राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रयसभा बैठकमा उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

उक्त पार्टीले यसअघि यसअघि एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पनि सांसद पदबाट हटाइसकेको छ।

बादल एमाले सदस्य भइसकेकाले माओवादी केन्द्रका तर्फबाट सांसद पदमा रहिरहन नमिल्ने भएकाले कारबाही गरिएको एक नेताले बताए। 

माओवादी पृष्ठभूमिका बादल नेकपा छँदै गृहमन्त्री भएका थिए। पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी दुई समूहमा विभाजित भयो। त्यतिबेला बादलले ओलीलाई साथ दिएका थिए। 

नेकपा नाम विवादको मुद्दा टुंग्याउने क्रममा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि पनि बादल एमालेमै रहेका थिए। 

सांसद पद गएसँगै उनको मन्त्री पद पनि रहनेछैन।