सांसद पद गुमाएका चार नेताको शपथ आजै

काठमाडौं, चैत २७ : एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रद्वारा कारबाही गरिएपछि सांसदसँगै मन्त्री पद गुमाएका चार नेताले मन्त्रीमा पुनर्नियुक्ति पाएका छन्। उनीहरूले आज (शुक्रबार) साँझ ५ बजे मन्त्री पदको शपथ लिनेछन्।

नेकपा नाम विवादको मुद्दा टुंग्याउने क्रममा सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि प्रधानमन्त्रीमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको साथ नछाडेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले मन्त्रीको शपथ खान लागेका हुन्।

उनीहरूको सांसद र मन्त्री पद हिजो (बिहीबार) गुमेको थियो । त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले उनीहरूलाई मन्त्री पदमा पुनर्नियुक्ति दिएका हुन्।

उनीहरुले साबिककै जिम्मेवारीअनुसार रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पुनर्नियुक्त हुनेछन्।

भट्ट ओली नेतृत्वमा सरकार गठन भएयता निरन्तर मन्त्री छन् भने रायमाझी, साह र चौधरी भने गत पुस १० मा पुनर्गठित मन्त्रिपरिषद सदस्य बनेका थिए। संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।