चारवटा वन क्षेत्रमा ७५२ वटा गैंडा

भरतपुर, चैत २८: नेपालका चारवटा वन क्षेत्रमा सात सय ५२ वटा एक सिंगे गैंडा रेकर्ड भएका छन् ।

हालै गरिएको गणनाको नतिजा सार्वजनिक गर्दै सरकारले त्यसको जानकारी दिएको हो । तीमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैंडा पाइएका छन् । सबैभन्दा कम पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैंडा पाइएका छन् ।

यस्तै, बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वनमा ३८ वटा गैंडा रेकर्ड भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा रेकर्ड भएका छन् ।

सबैतिर गरी एक सय ३६ वटा बच्चा फेला परेका छन् । भाले एक सय ४६, पोथी एक सय ९८, लिंग छुट्याउन नसकिएका चार सय आठ, बयस्क पाँच सय २० र अर्ध बयस्क गैंडा ९६ वटा पाइएका छन् ।

वन मन्त्रालयका सचिव विश्वनाथ ओली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपककुमार खरालको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाको तथ्यांक शनिबार सार्वजनिक गरिएको हो ।

यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो । उक्त गणनामा चितवन निकुञ्जमा ६ सय पाँचवटा सिंगे गैंडा पाइएका थिए । देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए ।