जसपाका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं, चैत २९ : नयाँ सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी (जसपा) को महत्वपूर्ण भूमिका रहने देखिन्छ।

त्यसकारण सत्तामा टिकिरहन चाहने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र नयाँ सरकारको गठनका लागि गृहकार्य गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तानातानमा जसपा परेको छ।

जसपा पनि कसलाई साथ दिने भनेर अनिर्णयको बन्दी बनिरहेको छ। जसापाभित्र अहिले ओलीलाई साथ दिनुपर्ने र अन्य पार्टीसँग मिलेर नयाँ सत्ता गठबन्धनमा जोडिनुपर्ने भन्ने स्पष्ट दुई लाइनमा नेताहरू विभक्त छन्।

यसैबीच कसरी अगाडि बढ्ने भनेर ठोस निष्कर्ष निकाल्ने उद्देश्यले जसपाका शीर्ष नेताहरूको आज अनौपचारिक बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने जनाइएको छ।

कांग्रेस, माओवादी केन्द्र र जसपाबीच शुक्रबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संयुक्त सरकारको प्रस्ताव गरेपछि जसपाले केही समय मागेको थियो। आजको बैठकमा सोही विषयमा छलफल हुने आँकलन गरिएको छ।