गण्डकीमा पृथ्वी सुब्बा गुरुङको पद धरापमा, कांग्रेसका कृष्‍णचन्द्र सम्भावित मुख्यमन्त्री

पोखरा, वैशाख १ : राष्‍ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद धरापमा परेको छ। प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता कृष्‍णचन्द्र नेपाली सम्भावित मुख्यमन्त्री देखिएका छन्।

बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत हुने सम्भावना छ। कांग्रेस र माओवादीबीच गण्डकी र लुम्बिनी प्रदेशमा गठबन्धन गर्ने सहमति भएको स्रोतको दाबी छ। स्रोतका अनुसार त्यसमध्ये गण्डकीका मुख्यमन्त्रीमा कांग्रेसलाई साथ दिन सहमति माओवादी केन्द्रले दिएको छ।

गण्डकी प्रदेशसभामा एमालेका २८ सांसद मात्र छन्। ६० सदस्यीय प्रदेशसभामा एमालेबाहेकको गठबन्धन बन्दा बहुमत पुग्छ। गण्डकीमा कांग्रेसका १५ सांसद छन् भने माओवादी केन्द्रका १२ र राष्‍ट्रिय जनमोर्चाका तीन सांसद छन्। यस्तै, जसपाका दुई सांसद डा. बाबुराम भट्टराई-उपेन्द्र यादव प्यानलका हुन्।

एमालेबाहेकका ३२ सांसद हुँदा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित हुने सम्भावना छ। बुधबार बिहान जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मुख्यमन्त्री गुरुङ सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। सोही कारण हालसम्म सुरक्षित देखिएका मुख्यमन्त्री गुरुङको पद धरापमा परेको हो।