कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने

काठमाडौं, वैशाख ३ : अविश्वासको प्रस्ताव पेस भएपछि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने तयारी गरेका छन्।

आज बस्ने प्रदेशसभा बैठकमा उनले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेसँगै नेकपा एमाले र माओवादी केन्द्रले कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । एमालेले विश्वासको मत असफल बनाउन र माओवादीले विश्वासको मतमा बहुमत जुटाउन नेपाली कांग्रेसको साथ खोजेको छ।

३९ सदस्यीय कर्णाली प्रदेशमा नेकपा एमालेको एक सभामुखसहित २० सांसद रहेका छन् । यस्तै माओवादी केन्द्रको १२, कांग्रेसको ६ र राप्रपाको १ सिट रहेको छ । विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस, राप्रपा र एमालेभित्रकै माधव नेपाल समूहको कम्तीमा एक सांसद आफूतिर तान्नुपर्ने देखिन्छ ।

उता, प्रधानमन्त्री केपी शर्मा ओली समूहका मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले अधिवेशन नै अन्त्य गर्नुभएको विपक्षी दलका सांसदहरुले आरोप लगाउँदै तत्काल विशेष अधिवेशन माग गरेका छन् ।