प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव

जनकपुर, वैशाख ५ : प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन्।

माओवादी र जसपाले प्रदेश सभा सचिवालयमा छ्ट्टाछुट्टै प्रस्ताव दर्ता गराएका हुन्। प्रदे शसभा सचिवालयले दुई दिन अघि प्रदेशको राजधानी र नामका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो।

जसपा प्रमुख सचेतक शैलेन्द्र यादवले दर्ता गराएको प्रस्तावमा प्रदेश २ को नाम मधेस राख्न माग गरिएको छ। प्रस्तावलाई सांसद बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन्।

त्यस्तै, जसपा सांसद परमेश्वर साहले प्रदेश २ को राजधानी जनकपुरधाम राख्न प्रस्ताव दर्ता गराएका छन्। जसलाई चमेली देवी दास, सन्चमाया मोक्तान र निरा साहले समर्थन गरेका हुन्।

यसैगरी माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले दर्ता गराएको प्रस्तावमा पनि जनकपुरधामलाई राजधानी बनाउन माग गरिएको छ। यसलाई माओवादीका सांसद जगतप्रसाद यादव र दिलीप साहले समर्थन गरेका छन्।

आइतबार साँझसम्म नेकपा (एमाले) र नेपाली कांग्रेसले भने प्रसताव दर्ता गराएको छैन।

यसअघि पनि प्रदेश २ को नाम राजधानीका विषयमा प्रदेश सभामा प्रस्ताव दर्ता भएका थिए। तर, कुनै प्रस्तावमा दुई तिहाइ मत नपुगेपछि अस्वीकृत भएका थिए।