उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ

काठमाडौं, वैशाख १२ : समाचार लेखेकै आधारमा उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङलाई आज (आइतबार) प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले आजै पक्राउ पूर्जी जारी गरेको थियो। तामाङ उज्यालो नेटवर्कको अनामनगरस्थित कार्यालयबाटै पक्राउ परेका हुन्।

पक्राउ पुर्जीमा विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको उल्लेख छ। काठमाडौं जिल्ला अदालतबाट जारी अनुमति प्राप्त गरी पक्राउ पुर्जी जारी गरिएको अनुसन्धान अधिकारी एवं प्रहरी निरीक्षक नानीकाजीद्वारा हस्ताक्षरित सोही पुर्जीमा उल्लेख छ। 

केही दिनअघि प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै छापेको समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

उनको पक्राउको विरोधमा पत्रकारहरूले नाराबाजी पनि गरेका थिए। यसअघि पाटन उच्च अदालतले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ नगर्न प्रहरीका नाममा आदेश पनि दिइसकिएको अवस्था छ। 

हेर्नुहाेस् पक्राउ पुर्जी