एक साताका लागि उपत्यकाका तीनै जिल्ला प्रशासनमा सेवा बन्द हुने

काठमाडौं, वैशाख १२ : उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने भएका छन्।

यी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले आफ्ना कार्यालयबाट प्रदान गरिँदै आएका अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।

बैठकले सोमबारदेखि नै लागु हुनेगरी सेवा बन्द गर्ने निर्णय गरेकाे हाे। अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ।

जिल्ला प्रकाशन कार्यालय काठमाडौंका अनुसार नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र वितरण, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता गर्ने सेवा एक साताका लागि बन्द रहनेछ ।

तर शान्तिसुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य तथा अन्य अत्यावश्यक सिफारिसहरू वितरण सेवा भने नियमित रहने जनाइएको छ।