गण्डकीका ३ सांसदलाई कोरोना संक्रमण, अविश्वास प्रस्तावमा मतदान गर्न पाउने

पोखरा, वैशाख १५ : गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो। एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । 

प्रदेशको विशेष अधिवेसनको दोस्रो दिन मंगलबार एमालेले सांसदको पिसिआर परिक्षण गर्न माग गर्दै संसद अवरोध गरेपछि मंगलबार नै उनीहरुको स्वाब लिएको थियो।

बुधबार सांसदहरुको कोराेना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक डाकिएको छ।  

अविश्वास प्रस्तावमा विहीबार मतदानको तयारी छ। प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि मतदानको व्यवस्था मिलाउने जानकारी दिएको छ ।