आजदेखि १५ दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं, वैशाख १६ : नयाँ प्रकारको भेरियन्ट नाम गरेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा शुरु भएको छ ।

निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा स्थगित हुनेछन्। सार्वजनिक र निजी यातायात बन्द हुनेछन्। अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ। तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन्। सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन।

 सार्वजनिक एवम् निजी सवारी साधन वैशाख १६ गते बिहान ६ देखि २२ गते राति १२ बजेसम्म काठमाडौँ उपत्यकाभरमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ। विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी ब्यानरसहितका दुईवटासम्म गाडी प्रयोग गर्न पाइनेछ ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने आदेशमा उल्लेख छ।  यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेशनमा बस्नुपर्नेछ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको हो । चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ भने दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ ।

यस्तै, बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

अघिल्लो वर्ष सरकारले एक सय २० दिन लामो लकडाउन गरेको थियो। २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी २०७७ साल साउन ७ गते अन्त्य भएको थियो।