संसद अधिवेशन वैशाख २७ मा बोलाउन सिफारिस, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौं, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। वैशाख २७ गते संसद अधिवेशन बोलाउन आह्वन गर्ने र विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका थिए। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले अविश्वास प्रस्ताव ल्याउन तयारी गरिरहेका बेला प्रधानमन्त्री ओली विश्वासको मत लिने भएका हुन्। 

सर्वोच्च अदालतको आदेशबाट नेकपा एकीकरण बदर भएको थियो। जसले गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका थिए। माओवादीले समर्थन फिर्ता लिने बताउँदै आएको छ। 

माओवादीले समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै प्रधानमन्त्री ओली विश्वासको मत लिने भएका हुन्।