विवाह भोजमा सहभागी २५ जनामा कोरोना

बागलुङ, वैशाख २४ : बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ। 

उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ। सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए। गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो।

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए। गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ। 

गाउँभर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उनले बताए। गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविकरूपमा सङ्क्रमणको दर बढेको उनले बताए। 

जलजला गाउँसँगै अन्य गाउँमा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सबैतिर परीक्षण शुरु गरेको छ। संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ।

विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए। उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए।

‘अहिले सङ्क्रमित भएकाहरु अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्,’ वडाध्यक्ष मगरले भने, ‘पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ।’

गाउँ कोरोना सङ्क्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ। सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरले बताए। 

अहिले सङ्क्रमितहरुलाई ज्वरो आउने तथा रुघा खोकीलगायतका लक्षण देखिएको छ। केही दिनअगाडि गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ। 

उक्त विवाहमा करिब चार सय सहभागी भएको स्थानीयवासीको भनाइ छ। विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ। (रासस)