खोपमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

काठमाडौं, वैशाख २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसविरुद्धको खोपमा भ्रष्टाचार हुनु जनताविरुद्धको अक्षम्य अपराध भएको बताएका छन्। 

शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवाले जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयम् भ्रष्टाचारमा संलग्न हुनु निन्दनीय भएको बताएका हुन्। ‘जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो,’ देउवाले भनेका छन्, ‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जीवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ।’ 

सभापति देउवाले यसमा संलग्न व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्। ‘सरकारको अनैतिक र भ्रष्टाचारजन्य घोर निन्दा र भत्र्सना गर्दछु,’ विज्ञप्तिमा भनिएको छ। 

उनले नेपाली जनताको जीवन रक्षा गर्नका लागि देशभर आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्। सभापति देउवाले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह पनि गरेका छन्। 

साथै कांग्रेसका कार्यकर्तालाई अप्ठ्यारोमा परेका व्यक्तिलाई सहयोग गर्न पनि निर्देशन दिएका छन्। देउवाले भनेका छन्, ‘देशभरका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु।