स्वास्थ्यमा सुधार आएपछि पूर्वरानी कोमललाई आइसियूबाट साधारण बेडमा सारियो

स्वास्थ्यमा सुधार आएपछि पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई आइसियूबाट साधारण बेड(स्पेसल क्याबिन)मा सारिएको छ।

कोरोना संक्रमण भएपछि पूर्वरानी कोमल वैशाख ७ गते नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन्। उनलाई श्वासप्रश्वासमा अत्यधिक समस्या देखिएपछि आइसियू भर्ना गरेर प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो।

अहिले साधारण बेडमा सारिएपछि उहाँलाई प्रतिमिनेट पाँच लिटर अक्सिजन दिइएको छ। पूर्वरानी कोमललाई आइसियूमा प्लाज्मा थेरापीद्वारा उपचार गरिएको थियो।

भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमललाई कोरोना संक्रमण भएको थियो।

पूर्वराजा, पूर्वरानीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए।पूर्वराजा र पूर्वअधिराजकुमारी प्रेरणाको स्वास्थ्य सामान्य छ।