पार्टी अध्यक्ष केपी ओलीलाई भोलि बिहान नौ बजेसम्मको अल्टिमेटम, माग पूरा नभए साढे नौ बजे नेपाल–खनाल समूहले कठोर निर्णय लिने

काठमाडौं, वैशाख २६ : एमाले नेपाल–खनाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई भोलि बिहान नौ बजेसम्ममा आफ्ना माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ ।

पार्टीलाई २ जेठ ०७५ को अवस्थामा फर्काउनुपर्ने उक्त समूहको माग छ । माग पूरा नभएमा साढे नौ बजे कठोर निर्णय लिइने उक्त समूहले निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार सम्पन्न नेपाल–खनाल समूहका सांसदहरूको बैठकले बिहान ९ बजेसम्म आफ्नो माग पूरा गरेमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय पनि गरेको छ । तर, माग पूरा नगरिए उक्त समूहले सामूहिक राजिनामा या अन्य कुनै निर्णय लिने भएको छ ।