गण्डकीको मुख्यमन्त्रीमा पुन: गुरुङ नै नियुक्त

काठमाडौं, वैशाख २९ : गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नै नियुक्त भएका छन् ।

विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि पुनः गुरुङ नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले चार दलको समर्थन रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएका थिए । तर, राष्ट्रिय जनमोर्चाका सांसदद्वय कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरू नयाँ गठबन्धनमा नरहेको पत्र प्रदेश प्रमुखलाई पठाएपछि बहुमत पुग्न नसकेको हो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (३) बमोजिम गुरुङलाई बुधबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनी प्रदेशसभामा उपस्थित ठूलो दलको हैसियतबाट अल्पमतको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेशसभामा एमालेका २७ सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले पनि एमालेलाई समर्थन गरेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतको सरकार गठन गर्न ३१ सांसद आवश्यक हुन्छ ।

कांग्रेस १५, माओवादी केन्द्र १२, राष्ट्रिय जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । तर, जनमोर्चाले धोका दिएपछि विपक्षी गठबन्धनको सरकार गठन प्रयास विफल भएको हो ।