यस कारण भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा

– नारायण ढुङ्गाना
काठमाडौँ, ३० वैशाख: यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो । वर्षाको अभावले डढेलो फैलिँदा जनजीवन नै प्रभावित बनाएको थियो । कतिपय जङ्गलमा लागेको डढेलो हेलिकोप्टरबाट पानी लगेर निभाउनुपरेको थियो तर पछिल्ला केही सातादेखि भने मुलुकका अधिकांश भेगमा वर्षा भइरहेको छ । त्यसले डढेलोसमेत नियन्त्रणमा आएको छ ।

ठाउँठाउँमा असिना, हावाहुरी र चट्याङसहितको पानी परिरहँदा केही स्थानमा क्षतिसमेत पुगेको छ । लामो समयदेखि आकाशे पानीको अभाव भइरहेको अवस्थामा परेको अहिलेको वर्षाले कृषि क्षेत्रलाई भने केही फाइदा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार चट्याङले भने मानवीय क्षतिसमेत गराइरहेको छ । यही वैशाखमा मात्रै चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए राति र आज बिहान पानी परेको थियो । यो क्रम केही दिनदेखि जारी छ । रातिको भन्दा अहिले पानी पार्ने मौसम प्रणाली केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो अर्काे प्रणाली विकास भएर पुनः पानी पर्ने सम्भावना कायमै रहेको मौसमविद्को भनाइ छ ।

हाल नेपालमा बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभाव छ । यस्तै सुदूरपश्चिममा विकास भएको पश्चिमी न्यून चापीय प्रणाली र दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाका कारण नेपालमा पानी परिरहेको हो । उक्त प्रणाली पूर्वसम्म पुगेकाले अधिकांश भूभागमा सामान्य बदली रही गण्डकी तथा वाग्मती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज बिहान पानी परेर केहीबेर रोकिए पनि दिउँसो फेरि नयाँ प्रणालीको विकास भई ठाउँठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिनुभयो । आज देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा केही बढी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

राति भने प्रदेश नं १ सहित देशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली हुने छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सभावना रहेको छ । शुक्रबार पनि प्रदेश नं १ र अन्य पहाडी भूभागमा बदली भई केही भागमा पानी पर्ने छ । शनिबारबाट भने यो प्रणाली हराएर केही खुल्ने भए पनि पुनः अर्काे प्रणाली आउनसक्ने मौसमविद् वासीले जानकारी दिनुभयो । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिसकेको छ । गत वर्ष सरदर पानी पर्ने भनिए पनि वर्षाका कारण ठूलो जनधनको क्षति पुगेको थियो । यसपालि भने सददरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनका बेला विशेष सावधानी अपनाउनुपर्नेमा पोखरेल जोड दिनुहुन्छ । गत वर्ष पहिरो गएको क्षेत्र र भूकम्पले जोखिम बनाएको क्षेत्र बढी जोखिममा छ । त्यस्ता ठाउँमा सानो पानी पर्दैमा बाढी पहिरोको सम्भावना अधिक हुने भएकाले मनसुनमा बढी सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद् बरुण पौडेल बताउनुहुन्छ ।

हुन त अहिले मनसुन शुरु भएको छैन । मनसुन शुरुपछिको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने आकलन गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिनुभयो । त्यसैले अहिलेदेखि नै क्षति कम गर्नका लागि तयारी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यसपालि कोभिड–१९ को समेत जोखिम बढ्दो क्रममा रहेकाले अझै मुलुक दोहोरो विपद्बाट गुज्रने अवस्था रहेको देखिन्छ ।(रासस)