नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लूएचओ

काठमाडौं, जेठ १ : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ।

शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताएका हुन्। उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् ।

केही अमेरिकी मुलुकमा अझै पनि कोरोना संक्रमण उच्च रहेको निर्देशक गेहब्रेयससको भनाइ छ। गत हप्ता कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ४० प्रतिश अमेरिकी क्षेत्रका रहेको उनले बताए ।

कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको बताए।