टाउटे चक्रवातले देशभर वर्षा हुनसक्ने
काठमाडौं, जेठ ४ : अरब सागरमा विकसित अतिशक्तिशाली चक्रवात (सामुन्द्रिक आँधी) टाउटेको प्रभाव नेपालमा पनि परेको छ। देशका विभिन्न भागमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
आज राति पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानहरूमा हिमपात र वर्षाको सम्भावना छ।
बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। उच्च हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा साथै अन्य प्रदेशको केही स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ।