प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न प्रचण्डको माग

काठमाडौं, जेठ ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै प्रचण्डको सचिवालयले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गरेको हो ।

सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु स्वच्छ र निष्पक्ष निर्वाचनको आधारभूत सिद्धान्त विपरीत भएको प्रचण्डको ठहर छ ।