वीरगंजकी उपमेयर ९१ वर्षीया शान्ति कार्की कोरोना संक्रमणबाट निको भइन्

दुई साताअघि कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगंज महानगरपालिकाकी ९१ वर्षीया उपमेयर शान्ति कार्की निको भएर घर फर्किएकी छिन ।

पछिल्लो पटक गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट डिस्चार्ज भएकी हुन्। मेयर सरावगीका अनुसार महानगरले नै चलाएको कोभिड -१९ अस्पतालमा उहाँ १३ दिन बसेर कोरोना संक्रमण नेगेटिभ आएपछि उहाँलाई आज घर पुर्‍याइएको छ।

उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएको थिएन। उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखिएको थियो भने अक्सिजनलगायत केही पनि आवश्यक परेको थिएन ।

तस्बिर : मेयर सरावगीको फेसबुकबाट।

मेयर कार्कीको आफ्नै घर छैन। अविवाहित कार्की आफन्तहरूको घरमा बस्ने गरेकी छन्।आज उनी वडा नम्बर ४ स्थित भाउजूको घरमा छिन्।

२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन्। कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनी वीरगंजमा समाजसेवामा पनि क्रियाशील छिन ।उनी कांग्रेस पर्साकी उपसभापति, वीरगंज नगरकी सभापति र नेपाल महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन्।