ओली र देउवा दुवैको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने राष्ट्रपतिको निर्णय

काठमाडौं, जेठ ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीको आधार नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी छिन् । 

दुवै जनाको दाबी नपुगेपछि संविधानको धारा ७६ उपधारा उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको भन्दै उक्त निर्णयमा राष्ट्रपति पुगेकी हुन् ।

दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने नदेखिएको राष्ट्रपतिको कार्यालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएकोले नेपालको संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’

संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत भण्डारीले उल्लेख गरेकी छन्। 

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री पदमा दाबी पेस गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन्। जसमा देउवाले १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए भने ओलीले १५३ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका थिए।