प्रतिनिधिसभा विघटन खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालत जाँदै विपक्षी गठबन्धन

काठमाडौं, जेठ १० : विपक्षी गठबन्धन प्रतिनिधिसभा विघटन खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालत जान लागेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले दाबी गरेको थियो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चाका एक सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए।

तर, राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्। त्यसपपछि जेठ ७ मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। 

त्यसका विरुद्ध आज विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको हो। यसका लागि सबै तयारी आइतबार पूरा गरिएको छ। आज सर्वोच्च खुल्ने वितिक्कै रिट लिएर जाने विपक्षी गठबन्धनको तयारी रहेको छ। 

संसद् विघटनविरुद्ध आइतबार पनि २५ वटा रिट परेका छन्। सर्वोच्च प्रशासनले अध्ययन गरेर मात्रै दर्ता गर्ने तयारी गरेको छ।