ओलीले बालुवाटारमा गरेको निर्णय सुदूरपश्चिमका एमाले सांसदद्वारा अवज्ञा, मुख्यमन्त्री भट्ट सुरक्षित

धनगढी, जेठ १२ : केन्द्रको निर्णय अवज्ञा गर्दै एमालेका सुदूरपश्चिम प्रदेशका बहुमत सांसदहरूले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएका छन्।

प्रदेशसभामा एमाले संसदीय दलको बुधबारको बैठकले यस्तो निर्णय लिएको हो। गत शनिबार एमाले स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

समर्थन फिर्ता लिँदा तत्काल नयाँ सरकार गठन गर्न कठिन हुने भएको उल्लेख गर्दै समर्थन कायम राख्ने निर्णय संसदीय दलले गरेको छ।

प्रदेशसभामा एमालेका सभामुखसहित २५ सांसद छन्। त्यसमध्ये १८ जना माधवकुमार नेपाल–झलनाथ खनाल समूहका हुन्। यस्तै, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका दुई सांसद छन्। जसपाका दुईमध्ये उपेन्द्र यादव र महन्थ ठाकुरका १-१ सांसद छन्। सरकारका लागि बहुमत पुर्‍याउन २७ सांसद आवश्यक हुन्छ।

माओवादी र एमालेको नेपाल–खनाल समूहका सांसद मात्र हुँदा पनि ३१ जना हुन्छन्। त्यसमा कांग्रेसले पनि समर्थन गर्दा ४३ सांसद मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा हुन्छन्। सोही कारण एमाले स्थायी समितिले समर्थन फिर्ता लिँदा पनि उक्त पार्टीले सरकार गठन गर्न सक्दैन।

एमालेका पछिल्ला घटनाक्रमका कारण उक्त पार्टी एक ठाउँमा उभिने सम्भावना समाप्त भएको छ। त्यसैले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका भट्टको पद सुरक्षित देखिएको छ।