चीनले नेपाललाई १० लाख डोज खोप दिने राष्ट्रपति सीको प्रतिबद्धता

चिनियाँ राष्ट्रपति सी चिनजिङले नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदान दिने घोषणा छन् । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको हुन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानी भए लगत्तै चिनियाँ राष्ट्रपतिले घोषणा गरेका हुन्। चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदानमा दिएको थियो।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार बुधबार दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता भएको थियो।

कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्। जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आफूले पहल गर्ने बताएका थिए। 

राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नियोगलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुबै देशका समकक्षीलाई खोपका लागि अनुरोध गरेको सञ्चार विज्ञ ढकालले बताए। 

मंगलबार भारतीय समकक्षीलाई पठाएको पत्रमा राष्ट्रपति भण्डारीले भारतले यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवाद दिएकी थिइन्। 

‘कोरोना दोस्रो लहरले नेपाललाई पनि आक्रान्त बनाएको छ। यसलाई रोक्ने प्रभावकारी उपाय खोप नै भएकाले खोप उपलब्ध गराउने पहलका लागि कूटनीतिक माध्यमबाट पत्राचार गरी राष्ट्रपतिले आग्रह गर्नुभएको हो,’ ढकालले भने।

नेपाल सरकारले खोप किन्नका लागि मार्चमा रकम तिरिसकेको छ। राष्ट्रपतिले भने त्यही खोप र थप खोप पठाउने पहल गरिदिन आग्रह गरेकी हुन्।

भारतले यसअघि १० लाख खोप अनुदान दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको थियो। त्योमध्ये १० लाख खोप आएको छ भने बाँकी १० लाख आएको छैन।