डाक्टर र नर्समाथि एमाले नेताको समूहद्वारा कुटपिट

नेपालगन्ज, जेठ १४ : नेकपा (एमाले) नेताको नेतृत्वमा रहेको एक समूहले बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेको छ। 

भेरी अस्पतालमा उपचार गराइरहेका आफन्तको मृत्यु भएपछि एमाले प्रदेश कमिटीका सदस्यको नेतृत्वको समूहले डाक्टर र नर्समाथि आक्रमण गरेको हो। उनीहरूले अस्पतालमा तोडफोड पनि गरेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको बिहीबार राति ८ बजे मृत्यु भएको थियो। उनको मृत्युपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत पाँच जनाको समूहले डाक्टर र नर्समाथि कुटपिट गरेको अस्पतालले जनाएको छ। 

कुटपिटमा संलग्न मानबहादुर, भरत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। 

उनीहरूको कुटपिटबाट चिकित्सक र नर्स घाइते भएको अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले बताए। चिकित्कस र नर्सले भागेर ज्यान बचाएको उनले बताए। अस्पतालका अनुसार डा. दीपक गुप्ता, डा. चन्द्रप्रकाश साहु, डा. समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई चोट लागेको छ। 

कुटपिट गर्ने रावत एमाले लुम्बिनी प्रदेश सदस्य रहेको जनाइएको छ। त्यस्तै, उनी एमाले दाङ जिल्ला कमिटीका सचिवालय सदस्य पनि रहेका छन्।