लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन

दाङ, जेठ १७ : लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको छ। 

आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा मतदान हुनेछ। यसका लागि तीन वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। कोरोना भाइरसको संक्रमण भएका जनप्रतिनिधिले पनि मतदान गर्न पाउने गरी छुट्टै मतदान केन्द्र राखिएको छ। 

आज मत गणना पनि हुने कुँवरले बताए। उनका अनुसार मतदान सकिएको डेढ घण्टाभित्रै मत गणना गर्ने तयारी छ। 

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित चन्द्रबहादुर खड्का नेकपा (एमाले)मा प्रवेश गरेपछि कारबाही गरिएको थियो। उनी कारबाहीमा परेपछि राष्ट्रय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचनका लाग दुई जना उम्मेदवार छन्। नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–बाबुराम समूह, राष्ट्रिय जनमोर्चा र एमालेको माधवकुमार नेपाल समूहबाट कपिलवस्तुका दृगनारायण पाण्डे उम्मेदवार छन्। उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए। उनी एमाले परित्याग गरी कांग्रेसबाट उम्मेदवार बनेका हुन्। 

त्यस्तै, एमालेको तर्फबाट चन्द्रबहादुर खड्का नै उम्मेदवार छन्। उनलाई जसपाको महन्थ ठाकुर समूहले समर्थन गरेको छ। 

लुम्बिीमा ८३ प्रदेश समा सदस्य छन्। उनीहरूको मतभार तीन हजार नौ सय ८४  छ। 

त्यस्तै, स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी दुई सय १७ मतदाता छन्। उनीहरुको मतभार तीन हजार नौ सय ६ छ।

दुवै गरेर मतभार सात हजार आठ सय ९० छ। तीन हजार नौ सय ४६ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन्।