विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाडौं, जेठ १८ : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।

पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् ।

कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि चिकित्सकले उनलाई एक्मो विधिबाट पनि उपचार गरेका थिए ।

४४ वर्षीय थापा विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी र सामाजिक उत्प्रेरक पनि हुन् ।

‘हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद उहाँ हामीबिच रहनुभएन,’ पाण्डेले लेखेका छन्, ‘उहाँले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरू, नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेपहरू, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्यांकन गर्नेछ भन्ने हामीलाई लागेको छ ।’

नेता पाण्डेले स्वर्गीय थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि भएको उल्लेख गरेका छन् ।

अन्तिमपटक गरिएको कोरोना भाइरस परीक्षणमा स्वर्गीय थापाको नतिजा नेगेटिभ आएको थियो । त्यसका बावजुद उनको निधन भएको छ । स्वर्गीय थापाको परिवारले पारिवारिक हिसाबबाटै उनको अन्तिम संस्कार गर्ने तयारी गरेको छ । र, महामारीका बेला अन्तिम संस्कारमा सहभागी नभइदिन आग्रह गरेको छ ।